बिहीबार कीर्तिपुर स्थित त्रिभुवन अन्तराष्ट्रिय मैदानमा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यएई) लाई डकवर्थ लेविस मेथडका आधारमा ९ रनले पराजित गर्दै नेपाल सोझै विश्वकप छनोटमा पुगेको छ।
खराब प्रकाशका कारण खेल पूरा नहुने देखिएसँगै खेल डिएल मेथर्डमा गयो। डिएल मेथर्डमा जाँदा खेल नेपालले जित्न सफल भयो। नेपालले ३ सय ११ रनको विशाल लक्ष्य पाएको थियो।
नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिन पुग्यो। डिएलमा जाँदा नेपाल ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पार्न सफल भयो।
पछिल्ला १२ वानडे क्रिकेटमा नेपालको यो एघारौं जित हो। नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रहँदै विश्वकप छनौटका लागि छनौट हुन सफल भयो।
बिहिबारको खेलमा राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने राम्रो अवसर रहेको थियो। उनी बिहिबार युएई विरुद्धको खेलमा आफ्नो ४१ औं अन्तराष्ट्रिय एक दिवसीय खेल खेलिरहेका थिए। र उनले हिजोको खेल अघि खेलेका ४० खेलमा ९८ विकेट लिएका थिए।
यस्तोमा, हिजोको जितमा २ विकेट लिन सफल भएको भए उनी एक दिवसीय अन्तराष्ट्रिय खेलमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्ने थिए। तर दुर्भाग्यवश बिहिबार उनको यो सपना पूरा हुन भने सकेन।
हाल यो रेकर्ड अफगानिस्तानका स्पिनर राशिद खानको नाममा रहेको छ। उनको यो रेकर्ड ४४ खेलमा हाँसिल गरेका हुन्। यसको मतलब हिजोको खेलमा यो रेकर्ड हात पार्न सकनेपनि सन्दीपले आफ्नो अर्को खेलमा मात्र एक विकेट लिएपनि यो रेकर्ड उनको नाममा हुने पक्का रहेको छ। हाल उनको नाममा ४१ खेलबाट ९९ विकेट रहेको छ।
सन्दीपले लिग–२ को यो साइकलमा मात्र ७२ विकेट पूरा गरेका छन्। उनले आइसीसी लिग २ का ३१ खेलमै ७२ विकेट लिन सफल भएका हुन्। ओमानका बिलाल खान लिग–२ मा ७६ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भए। बिलालले ३५ खेलमा यो सफलता हासिल गरेका हुन्।