भक्तपुर । यतिबेला भक्तपुरमा लिच्छविकालीन बिस्का जात्रा चलिरहेको छ। चैत्र शुक्ल मसान्त ४ दिन अगाडिदेखि वैशाख ५ गतेसम्म, आठ रात र नौ दिन भक्तपुर जात्रामय बन्छ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा सामाजिक महत्त्व बोकेको बताइने यो जात्रा भक्तपुरको ङातापोल अर्थात् पाँच तले मन्दिर परिसरमा भैरवनाथको रथ तानेर सुरु गरिन्छ। यो जात्रा अवलोकन गर्न देश विदेशबाट जात्रालु आउँछन्।
जात्राको सँगालो
आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्रा जात्राहरूको सँगालो मान्न सकिन्छ। सुरुदेखि अन्तिम दिनसम्म हरेक दिन हुने विशेष पूजा र जात्राहरूका कारण बिस्का जात्रा भक्तपुरको विशेष पर्व हो।
स्थानीय संस्कृतिविद् ओम धौभडेलका अनुसार बिस्का जात्राभरिमा द्यो क्वाँहा बिज्याकेगु भनिने भैरव भद्रकालीको जात्रा, योसीं थनेगु, योसीं क्वथेगु भनिने लिङ्गो उभ्याउने र ढाल्ने जात्रा, दुमाजु जात्रा, इन्द्रायणीको त्वारिवा जात्रा, वाराहीको टिप्वा जात्रा, महाकाली महालक्ष्मीको खट जुटाउने जात्रा, ब्रम्हायणी माहेश्वरीको जात्रा, जेठा गणेश बुल्चा भैरव जात्रा, इनारे गणेश जात्रा, ल्हामरु अर्थात् हात नभएको लिङ्गो जात्रा, छुम्ह गणेश जात्रा, द्योः स्वगं बियेगु जात्रा जस्ता थुप्रै जात्राहरू हुन्छन्।
“हरेक दिन गरिने पूजा र मनाइने जात्रा बिस्का जात्राका विशेषता हुन्,” उनले भने। सम्पदाविद् रवीन्द्र पुरी बिस्का जात्राको विशेषगरी पहिलो र आठौँ दिन देश विदेशबाट पाहुना बोलाई जात्रा देखाउने गरेको सुनाउँछन्। यस पटक पनि पहिलो दिन भैरवनाथको रथ यात्रा हेर्न पाएर आमन्त्रित पाहुनाहरूले आफूलाई निकै भाग्यमानी महसुस गरेको उनले सुनाए।
“४ गते फेरि धेरै मानिसहरू बोलाएको छु। त्यो दिन भक्तपुरको पर्यावरण बदलिने छ। भक्तपुरका हरेक बासिन्दा यहाँ रहेका हरेक देवदेवीको दर्शन गर्न पुग्छन्। बाजागाजासहित बडो उत्साहित भई देवता दर्शन गर्न हिँड्ने मानिसहरूको भीड दिनभर रहन्छ। यो दिन सबैले हेर्नु पर्छ, सबैलाई देखाउनु पर्छ,” उनले थपे।
भैरवनाथको रथ जात्रा
भैरवनाथको रथ यात्रा बिस्का जात्राको पहिलो र अन्तिम दिन हुन्छ। यी दुवै दिन हजारौँ मानिसहरू रथ तान्न भक्तपुरको टौमढी अर्थात् तमारीमा जम्मा हुन्छन्। ङातापोल अर्थात् पाँचतले मन्दिर परिसरमा सुरु हुने यो जात्रामा रथको अघिपछि बाँधिएका डोरी तान्न विशेषगरी युवाहरू निकै उत्साहित हुन्छन्।
दुईतिर तान्नेहरूले रथलाई आफूतिर लिएर जान खोज्नु यो जात्राको रोमाञ्चक पाटो बताइन्छ। काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ।
रथ तान्नुअघि भैरवनाथको विधिवत् पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ। एक जना स्थानीय बासिन्दा लक्ष्मीप्रसाद सुवालका अनुसार रथको अघिपछिका डोरीहरू तल वा माथि लाने प्रतिस्पर्धाका लागि भन्दा पनि रथको नियन्त्रण र सन्तुलन कायम गर्नका लागि हुन्।
“यो रथ विशाल छ। यसको बनोट आफ्नै तरिकाको छ। यसको पाङ्ग्राले छोयो भने मात्र पनि बच्न मुस्किल छ। यसमा ब्रेक छैन। गए पछि त यो गयो गयो। त्यही नियन्त्रण गर्न डोरीहरू राखिएका हुन्।” रथमा निश्चित व्यक्तिहरू मात्र बस्नु पर्ने मान्यता रही आएको छ।
रथमा जुसी बजु, कर्माचार्य, तलेजुको पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने प्रयास हुँदै आएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले बताइन्।
जात्रामा हजारौँको जोशिलो सहभागिताले भक्तपुरको आकाश बेग्लै प्रकारले गुञ्जायमान हुने स्थानीय बासिन्दा श्याम कासुला बताउँछन्। डोरी तान्नेहरू हौसिएसँगै हेर्नेहरूले दिने हौसलाले थप जोश मिल्ने उनी बताउँछन्।
“डोरी छुन मात्र पाइयो भने पनि जात्रामा आउनुको सार्थकता भयो भन्ने हुन्छ। यसको पाङ्ग्रा निकै भयानक देखिन्छ। तान्दा यसबाट निस्कने ध्वनिको शब्दमा बयान गर्न सकिन्न।”
पाँचतले मन्दिरको सबैभन्दा माथिल्लो सिँढीमा बसेर भैरवनाथको रथ यात्रा हेरेको बताउने ललितपुरकी राधा महर्जनले भनिन्, “मैले यो जात्रा हेर्न थालेको ८ वर्ष भयो। भक्तपुरको एक जना साथीले बोलाएर आउँछु। बोलाएन भने पनि आएर हेरिरहेकी छु। हरेक पटक मलाई यसले आकर्षित बनाउँछ। मानिसहरूको आफ्नो संस्कार र संस्कृतिप्रतिको गहिरो प्रेमको अनुभूत गराउँछ। म आइरहने छु।”
भैरवनाथको रथः अध्ययनको विषय
संस्कृतिविद् रवीन्द्र पुरी भन्छन्, “रथलाई दुवैतिरबाट तान्ने परम्परा संसारको कुनै देशमा छैन। दुवैतिरबाट तान्दा रथमा पर्ने दबावको अनुमान सायदै कसैले मापन गरेको होला। तर त्यो १० रेक्टर स्केलको भूकम्पको पनि दोबर जस्तो हुन्छ। यतिको मजबुत संरचनाको निर्माण कुनै आधुनिक उपकरणको प्रयोगविना गरिन्छ। के यो आफैमा गर्विलो विषय होइन?’
नेपाली शैलीको मन्दिर स्वरूपको यो रथ इतिहास, इन्जिनियरिङ तथा विज्ञान बुझ्न चाहनेका लागि अध्ययनको निम्ति सिङ्गो प्रयोगशाला हुने उनी बताउँछन्। यसको निर्माणमा जुटेका हरेक व्यक्तिबाट अनगिन्ती अमूल्य ज्ञान प्राप्त गर्न सकिने भन्दै यसतर्फ ध्यान दिनपर्ने उनी बताउँछन्।
फलामको किला वा चुकुल प्रयोग नगरी यति ठूलो काठे संरचना हजारौँ मानिसले तान्दा पनि नभत्किनुको रहस्य पुर्खाको मौलिक कला, सृजनशीलता र पौरख रहेको सम्पदाविद् पुरी बताउँछन्।
योसीं जात्रा
चैत्र शुक्ल मसान्तको दिन भक्तपुरको योसीं खेल र तालाक्वमा योसीं अर्थात् लिङ्गो उठाइन्छ। वैशाख १ गते योसीं खेलको योसीं ढाल्ने र भैरव भद्रकालीको रथ जुधाउने जात्रा हुन्छ।
भक्तपुरको बिस्का जात्राभित्रको यो अर्को महत्त्वपूर्ण जात्रा हो। ५५ हात लामो योसीं हजारौँ मानिसहरूको उपस्थितिमा उठाइन्छ। योसीं उठाउनुपूर्व भैरव भद्रकालीको रथ योसीं खेल पुर्याउनुपर्छ। तलेजुभित्र दुमाजुको जात्रा सम्पन्न गर्नुपर्छ।
खौमास्थित इन्द्रायणीको त्वारिवा जात्रा सम्पन्न हुनुपर्छ र तलेजुको खड्गको उपस्थितिमा योसीं उठाइन्छ। ‘योसीं उठिसकेपछि मात्र वाराहीको टिप्वा जात्रा हुन्छ,’ तलेजुका पुजारी नाइके प्रगेशराज राजोपाध्यायले भने।
वैशाख १ गते योसीं ढाली सकेपछि भैरव भद्रकालीको रथ गःहिटी पुर्याइ एक आपसमा जुधाउने परम्परा छ। वैशाख २ गते थिमीमा, ३२ खटको जात्रा हुन्छ। भक्तपुरमा सोही दिन साँझ भक्तपुरको भोलाछेँ टोल वरपर महाकाली महालक्ष्मीको जात्रा हुन्छ।
जात्रा व्यवस्थापन
बिस्का जात्रालाई विश्व जात्रा पनि भन्ने गरिएको भक्तपुरका एक युवा रमेश श्रेष्ठ बताउँछन्। ‘यो जात्रा स्थानीय मानिसहरूको जात्रा हो। हेर्दा कतिले नगरपालिकाले नेतृत्व गरेको हो कि भन्ने ठान्छ। कतिले जिल्ला प्रशासन कार्यालयले पो हो कि भन्ने सोच्छ। कतिले भने गुठी संस्थान होला भन्ने सम्झन्छ। तर यो नितान्त यहीँका मानिसहरूको जात्रा हो।’
रमेशको भनाइमा समर्थन जनाउँदै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति भन्छन् “यो जात्रा भक्तपुरका बासिन्दाको हो। उनीहरू नै आयोजक, उनीहरू नै व्यवस्थापक। हामी त सहयोगी हौँ। जात्रा सुसम्पन्न गर्न जिल्ला प्रशासन, गुठी संस्थान लगायत अन्य सरोकारवाला निकाय र व्यक्तिसँग समन्वयकर्ताको भूमिकामा छौँ।”
जात्रालुको सेवा सुविधालाई विशेष ध्यान दिँदै पिउने पानीदेखि एम्बुलेन्ससम्मको व्यवस्था गरिएको उनी बताउँछन्। बिस्का जात्राको व्यवस्थापनका लागि भक्तपुरभरि नै स्वयमसेवकहरू परिचालन गरिएको जात्रा सहयोग समितिका अध्यक्ष कुमार चवाल बताउँछन्।
“जात्रा हामीले गर्ने हो। हाम्रो जात्रा कसैको टाउको फुटाउन, कसैको खुट्टा भाँच्न वा कसैको ज्यान लिन गर्ने होइन। यो त सद्भाव फैलाउने जात्रा हो।”
‘सुरक्षित छ’
जात्राको महिमा कायम गर्न स्थानीय गुठीहरू, संघसंस्थाहरू, क्लबहरूले सक्रिय भूमिका खेल्दै आएको बताइन्छ। समयमै जात्रा सुरु गर्ने र समयमै अन्त गर्ने प्रस्तावको चौतर्फी सहमति हुनुले जात्राको महिमा बढ्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल बताउँछन्।
सुरक्षा अवस्था चुस्त बनाउन ठाउँ ठाउँमा सीसीटीभी मार्फत निगरानी हुने जानकारी गराउँदै सादा पोसाक र पोसाकमै पनि सयौँ प्रहरी तथा सेनाहरू जात्रा हुने स्थानमा उपस्थित हुने उनले जानकारी गराए। बिस्का जात्रालाई भक्तपुरको शानसँग जोडेर पनि हेर्ने गरिन्छ।