झापा, कमल गाउँपालिका–५ गेउरियास्थित किरात समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ।
दर्जनौं समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र ग्रिलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताए।
किरात समुदायको आस्थाको धरोहरको रूपमा रहेका समाधिस्थलको सुरक्षा गरिदिन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको उनले जानकारी दिए।
स्थानीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने बताउँदै उनले भने, ‘समाधिस्थलका ग्रिलहरू यसरी काटेर लैजाने घटना नयाँ समस्याका रूपमा देखा परेको छ। स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित पक्षहरूले बेलैमा ध्यान दिऔं।’
पितृपुर्खालाई समाधिस्थ गरिएको स्थानमा रातिराति तोडफोड गर्ने र फलामजन्य वस्तुहरू चोरेर लैजाने गिरोह सक्रिय भएको पाइएको जनाउँदै उनले यस्तो गलत कार्य गरिरहेकालाई नियन्त्रणमा लिएर कारबाही गरिनुपर्ने माग गरे।
रतुवामाई वृक्षरोपण आयोजनाको पश्चिम कुनामा रहेको गेउरिया समाधिस्थल झापामा सबैभन्दा ठूलो मानिन्छ। यहाँ हजारौं व्यक्तिको समाधि छ। किरातीहरूले आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा जंगल वा खोला किनारमा लगेर माटोमा समाधिस्थ गर्ने परम्परा छ।
गेउरियामा करिब डेढ बिघा क्षेत्रफलमा राई, लिम्बू, गुरुङ, शेर्पा, मगर लगायत समुदायको समाधि राखिँदै आएको छ। समाधिस्थलमा कंक्रिटका चिटिक्क परेका सानासाना घर बनाइने गरेको छ। एकै ठाउँमा हजारौं समाधि रहेकाले त्यो जंगल क्षेत्र समाधि बस्ती जस्तै बनेको छ।
कमल–५ का वडाध्यक्ष लालबाबु विष्टले भने समाधि-गृहबाट सामान चोरी भएको कुनै जानकारी नआएको बताए। समाधिस्थललाई व्यवस्थित र सुरक्षित गर्न निश्चित क्षेत्रमा तारको घेराबेरा गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिसक्ने उनले जानकारी दिए।