दाँदे जतिकै घिस्याइयो नि…. !
राजी कि बिराजी…??
कन्ने कि जारी… ??
जारी तिर्न सक्छस् भने लैजा (जिस्क्याउने मेसो)
यस्ता वाक्यांशहरू पहिले सुनिरहनेलाई पनि अलि अनौठो लाग्ने रहेछ।भोग्नेहरू धेरैजना अझै पनि हुनुहुन्छ।उहाँहरूलाई कस्तो लाग्ला कुन्नि ??
मेरो बचपनमा यस्ता वाक्यांसहरू धेरै सुनिन्थे।सामान्य पनि लाग्थे।कतिको अर्थ बुझिन्थ्यो भने कतिको बुझिन्नथ्यो।यस्ता कुरामा के हो भनेर ठूलाबडालाई सोध्यो भने प्राय: गरेर वच्चाहरूले यस्तो कुरामा चासो राख्न हुन्न भन्ने जस्तो जवाफ पाइन्थ्यो।त्यसैले ठूलाबडाको यस्ता कुराहरूमा हतपत सोध्ने आँट नै हुँदैनथ्यो।
कतिपय तरुनी तन्नेरीहरूको पालाम (धाननाच दोहोरी) मा जितेर विवाह हुने गर्थ्यो भने कति चाहिं मन परेपछि केटीलाई जबर्जस्ति घिस्याएर लग्ने र त्यस्तैमा पनि माइती पक्षले राजी भए घरमा छोडिदिने र बिराजीले भएमा माइतीमै कन्ने (अविवाहित) फर्काएर लग्ने चलन पनि सामान्य नै थियो।बुहारी जारी होस् या कन्ने घरपरिवारको व्यवहारमा कुनै फरक हुँदैनथ्यो।परिवारकै राम्रो व्यवहार भएपछि समाजले त फरक व्यवहार गर्ने आँट कसरी गर्नु !
यी सबै कुराहरू सुन्दा कुनै संस्कारमा अपाच्य लाग्न सक्छ भने लिम्बू संस्कारमा सामान्य नै मानिन्छ। समय अनुसार संस्कार पनि फेरिंदै जान्छ।अहिले समय त्यसबेला जस्तो छैन।न सुनौली रुपौली, न जारी, न बिराजीमा तान्ने घिस्याउने, …।बिकृति ल्याउने संस्कार लोप भइसकेको छ भने राम्रो संस्कार अझ पनि चलनचल्तीमा छ।खासमा सुनौली रुपौली भन्ने सम्पूर्ण अचल जायजेथा पुरुषको नाममा रहने हुनाले छोरीको सुरक्षाको लागि उक्त रकम राम्रै रुपमा चल्तीमा आएको भए पनि अप्रत्यक्ष रूपमा बिस्तारै छोरी/ बुहारी बेच्ने र किन्ने जस्तो विकराल रुप देखिन थाल्यो।त्यसैगरी बिराजीमा तान्ने पनि छोरीचेलीको इच्छा विपरित बलको प्रयोग भएकोले यी चलनहरू बिस्तारै हट्दै गए।अहिले यस्ता क्रियाकलापलाई अपराध मानिन्छ।केटा र केटी राजी खुसी भएमा स्वच्छाले जाने लानेलाई अहिले पनि इज्जतसाथ सामान्य नै मानिन्छ।यस अर्थमा लिम्बू संस्कारले नारी कतिको स्वतन्त्र छ भन्ने देखाउँछ।
सन्दर्भ जारी चलचित्र…
यस चलचित्रका पात्रहरू नामसाङ्ग/ हाङ्माको अहमताले गर्दा यहाँ जारी को सिर्जना भएको छ।पालममा जितेर जारी गरेको, बिरजीमा जबर्जस्ति घिस्याएर माइती पक्षले खोसेर फिर्ता लागेको, लिम्बू र बाहुनको अन्तर्जातीय विवाहबाट जन्मिएका सन्तान (कलाकार विजय बराल) लाई समाजमा विवाह गर्न समेत गाह्रो भएको लिम्बु गाउँको कथा मजाले उनिएको छ।
कति शब्दहरू अलि अपाच्य लाग्छन्।तर लिम्बू समुदायमा यो सामान्य बोलीचालीको भाषा नै हो।अझ पनि गाउँघरमा बुढापाकाको मुखबाट माया गर्दा या त सामान्य बोलचालमा नै यस्ता शब्दहरू आउँछन्।कतिपय स्थानीय, जातीय शब्दहरू यस्ता हुन्छन् कि एक समूहको सामान्य बोलचालको शब्द अर्को समूहको लागि गाली या आपच्य हुन जान्छ।त्यसैले यहाँ प्रयोग भएका कति शब्दहरू सुन्न असहज लागे आफू पनि यही समुदायमा हुर्किएकीले बुझ्न कुनै गाह्रो भएन।
मलाई चलनचल्तीभन्दा फरक लागेको मसला कथा चाहिं माइतीले जारी तिर्न नसकेपछि छोरी (हाङ्मा) स्वयम् उक्त घरमा काम गर्न बस्छिन् र सबैको सेवा गरी मालिक परिवारको मन जित्छिन् र जारी भइसकेकी उनले फेरि नामसाङ्गलाई दोस्रोपटक माग्न आउनेसम्म बनाउँछिन्।माइतीले कुटपिट गर्न खोज्दासमेत मारे पनि बरु यहीं मर्छु तर तिमीलाई नलिइ फर्किन्न भन्नेसम्म बनाउँछिन्।सायद यो दुवैको घमण्ड, पश्चाताप र प्रेमको उपज हो।जारीको फरक अनि सफल कथा पनि यही नै लाग्यो।जुन लिम्बू समुदायको चलनमा नै थिएन।हाङ्माले समेत जारीलाई सच्याउन मौका पाउने म भाग्यमानी छोरी भनेर आमालाई सम्झाउँछिन्।यो छोटो लेखनमा मेरो बुझाइको अनर्थ नलागोस्।मैले सानोमा देखि आएको र जारी हेरेपछि आफ्नो मनमा लागेका केही कुरा मात्र लेखेकी हूँ।बाँकी विस्तृत कथा हेर्न र बुझ्न त हजुरहरूले जारी नै हेर्न जानु पर्छ।
नेपाल बाहिर हुर्के बढे पनि परिवार छोडेर नेपालको छोटो बसाइमा दोहोरो संघर्ष गर्दै यति सफल कलाकार बन्नु चानचुने कुरा होइन।यसै पनि नयाँ काम गर्न चुनौती छ, त्यसमाथि परिवारबाट धेरै टाढा रहेर एक्लै संघर्ष गर्दै यति उचाइमा पुग्नु भएकोमा नायिका मिरुना मगर नानुलाई सगर्व बधाई छ। साथै विदेशमा हुर्काइ बढाइ गरे पनि छोरीलाई नेपालसँग नजिक राख्नु हुने आदरणीय कलाकार शशी दिदी ( Shashi Thapa subba) र भेनालाई पनि बधाई ! सायद यस समयमा नानुभन्दा डबल त दिदी नै फुरुङ्ग हुनुहुन्छ होला।😊
नायक दयाहाङ् राईको त के कुरा गर्नु ! उहाँको चलचित्र आयो कि नहेरी नहुने बानी धेरैलाई परिसकेको छ।त्यसैगरी मिठा मिठा कविताहरू वाचन गरेर सबैलाई पेट मिचिमिची हँसाउनु हुने कवि उपेन्द्र सुब्बा (Upendra Suba ) दाजुले अब कवितासँगै यसरी नै निरन्तर चलचित्रमा पनि हँसाउने हुनेछ भन्नेमा विश्वस्त छु।सफल चलचित्रको लागि “जारी” टिमलाई हार्दिक हार्दिक बधाई !
(सानोमा अलि अलि सुने देखेको कुराहरू “जारी”ले फेरि सम्झाइदियो |)