काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको दाबी गरेका हुन् । उनले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताए । उहाँले भगवान पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताए । उनले अहिले राज्य सत्ताको सारा अंग मृत्युप्रायः रहेको बताए ।
त्यस्तै मन्त्री किराँतीले देशका कानुन संशोधन गरी अघि बढ्नु पर्ने बताए । उनले एउटा व्यवसाय दर्ता गराउन सातवटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नु पर्ने अवस्था रहेको पनि बताए । मन्त्री किरातीले नेपालीको रगत रगतमा भ्रष्टाचार रहेको बताए ।
त्यसैगरी मन्त्री किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानु पर्ने बताए । उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको भन्दै यस्तो बताएका हुन् । उनले जनताको विश्वास माथि सम्मान गर्नुपर्ने बताए ।