सप्तरी, २७ बैशाख । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२, विषहरियाका २१ वर्षीय कलदीपकुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
आरोपितले सात लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतले जनाएको छ ।
आरोपितले २०७९ मंसिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताएकी छन् ।