सरकारलाई पूर्णता दिन नसकेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह समाधान खोज्न फेरि काठमाडौं गएका छन्।
मुख्यमन्त्री शाह सोमबार साँझ हवाई जहाजबाट काठमाडौं गएका हुन्। काठमाडौंमा सत्तारूढ दलका शीर्ष नेताहरूसित मन्त्रालयको भागबण्डाबारे छलफल हुने उनको सचिवालयले जनाएको छ।
गत हप्ता मात्रै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर शाह धनगढी फर्केका थिए। उनले गत शुक्रबार नै नयाँ मन्त्री नियुक्त गर्ने भनेका थिए।
प्रदेशमा माओवादी केन्द्रले तीन र नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय चाहिने अडान नछोडेपछि भागबण्डा मिलेको छैन। सरकारको नेतृत्व गरिररहेको कांग्रेसले पनि थप एक मन्त्रालयमा दाबी गरेको छ।
नेकपा माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले केन्द्रमै नेताहरूसँगको भेटमा प्रदेश सभामा दोस्रो ठूलो दल भएकाले आर्थिक वा भौतिकमध्ये एक मन्त्रालय पाउनुपर्ने कुरा राखेका थिए। अहिले अर्थ मन्त्राललय एकीकृत समाजवादी र भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसले पाएको छ।
माओवादीले यीमध्ये कुनै पनि मन्त्रालय नपाए अरू तीन मन्त्रालय दिनुपर्ने अडान राखेको सांसद भाटले बताए। माओवादीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने गरी छलफल भए पनि सहमति जुटेन। नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले दुई मन्त्रालयमा दाबीसहित मन्त्री हुनेको नाम नै पठाइसकिएको बताए।
उनले केन्द्रमा सहमति भएरै रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्रीसमक्ष दिइएको बताए। नागरिक उन्मुक्ति पार्टीले कृषि र सामाजिक विकास मन्त्रालयमा दाबी गरिरहेको छ।
नेपाली कांग्रेसबाट पृथ्वीबहादुर सिंह र शिवराज भट्टको नाम मन्त्रीको लाइनमा रहेको चर्चा छ। मन्त्रीविहीन चार मन्त्रालयमा सत्तारूढ दलले ६ मा दाबी गरिरहेकाले सरकार विस्तार गर्न हलो अड्किएको छ। प्रदेशमा कुरो नमिलेपछि केन्द्रका नेताहरूले गरेको भागबण्डा मान्न दलहरू तयार बनेका छन्। सोही विकल्प लिएर मुख्यमन्त्री शाह काठमाडौं हिँडेका हुन्।