बजारतिर घुम्न जाऔं भनी एक किशोरीलाई मोटरसाइकलमा राखेर जंगलमा पुर्याइ बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन्।
बर्दियाको ठाकुर बाबा नगरपालिका–६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियारले आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर स्थानीय एक १८ वर्षीया किशोरीलाई जंगलमा पुर्याइ बलात्कार गरेका थिए।
पीडित किशोरी घरमै बसिरहेको समयमा छिमेकी गाउँ घर भई चिनजानका दुई व्यक्तिले किशोरीलाई बजारतिर घुम्न जाऔं भनेर मोटरसाइकलमा लगे पनि सवारी कतै नरोकी ठाकुर बाबा– ७ स्थित मध्यवर्ती सामुदायिक वनमा लगेर दुबै जनाले बलात्कार गरेको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए।
पीडितले घटनालगत्तै प्रहरीलाई सूचना दिएकी थिइन्। बलात्कारपछि फरार परियारद्वयलाई खोजी गर्ने क्रममा प्रहरीले सोमबार बिहान १ बजे गाउँमा हिँडिरहेको बेला नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय वगनाहा भूरिगाउँबाट प्रहरी निरीक्षक पवन पछाइँको कमाण्डमा खटिएको टोलीले परियारद्वयलाई नियन्त्रणमा लिएको थियो।
पीडितको स्वास्थ्य परीक्षण भइसकेको र आरोपितले घटना स्वीकार गरिसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए। पक्राउ परेकाविरूद्ध बलात्कार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।