रोल्पा । रोल्पामा सोमबार बेलुका जिपले च्यापिएर एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी जिल्लाको परिवर्तन गाउँपालिका – २ राङ्सीकी ५८ वर्षीया खुबु डाँगीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य चौकी होलेरीमा बेलुकी पाँच बजेतिर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार लु १ ज ३०२५ नम्बरको भाडाको जिप सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका– २ भांगोबारीमा दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो।
प्रहरीका अनुसार जिपमा तेल सकिएपछि रोकिएको थियो। तेल भरेर स्टार्ट गरी यात्रु चढाउने क्रममा टायरमा राखेको आड नाघेर जिप पछाडि गुडेको थियो। त्यस क्रममा यात्रुले हाम फालेपछि दुई जना च्यापिन पुगेका थिए।
जिपले च्यापेकामध्ये एक जना घाइतको मृत्यु भएको र अर्काको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। उक्त जिप परिवर्तन गाउँपालिका – २ राङसीबाट दाङको घोराहीतर्फ आउँदै थियो।
दुर्घटनामा परी परिवर्तन – २ राङ्सीका १८ वर्षीय भूपेन्द्रबहादुर वली गम्भीर घाइते भएका छन्। उनको उद्धारपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता भुसालले जानकारी दिए।
जिपमा कुल १४ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ।