काठमाडौं । प्रतिनिधिसभामा मतदानको माध्यमबाट बहुमतले बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारबारे भइरहेको सम्भावित संकट पनि तत्काललाई टरेको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट अनुमोदनको पक्षमा १४७ र विपक्षमा १०८ मत पर्यो । बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत भएकाले सत्ताको पक्षमा प्रष्ट बहुमत रहेको समेत पुष्टि भयो ।
यसअघि गत ६ चैतमा प्रचण्डले विश्वासको मत लिदा १७२ मत पाएका थिए । तर त्यसबेला विश्वासको मत दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीले बजेटको पक्षमा मत दिएनन् ।
संसदको चौथो ठूलो दल रास्वपाले गएको २२ वैशाखमा समर्थन फिर्ता लिएको थियो भने जनमत पार्टीले समर्थन फिर्ताको निर्णय नगरेपनि गत १७ चैतमा सरकारबाट बाहिरिएको थियो । यद्यपि यी दुई दलले सत्ताबाट बाहिरिने निर्णय गर्दा पनि सत्तारुढ दलहरुको सांसद संख्या प्रतिनिधिसभाको बहुमत (१३८) भन्दा धेरै भएकाले प्रधानमन्त्रीले विश्वासको मत लिएका थिएनन् ।

























