काठमाडौं । रेखा थापाले निर्माण गर्न लागेको आगामी फिल्मको नाम ‘उपहार’ तय भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गर्दै रेखा फिल्म्सले फिल्मबारे औपचारिक जानकारी गराएको हो । यो लभस्टोरी र सोसल ड्रामालाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।
बोर्डमा दर्ता भएको विवरणअनुसार रेखा फिल्म्स र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । बोर्डमा कलाकारको नाम रेखा थापा, पूजा शर्मा र सुलभ प्रतीक देउजा राखिएको छ । निर्देशक देउजाले अन्य कलाकार तय हुन बाँकी रहेको बताए ।
o
डेढ करोड रुपैयाँ बजेट बताइएको यो फिल्म बोर्डमा १२४४ नम्बरमा दर्ता भएको छ । निर्माताको नाम पनि रेखा थापा र ज्ञानेन्द्र देउजा राखिएको छ । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने जनाइएको फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन् । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा छन् ।
गुरुपूर्णिमामा गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु भएको छ । बाबुल गिरीले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ ।