इजरायल। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा नेपालीहरू पनि घाइते भएका छन्। शनिबार बन्दुकधारीहरूले अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्। जसमा नेपालीहरू पनि घाइते भएका छन्।
केही नेपालीहरू घाइते भएको सूचना पाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। उनले यसबारे थप विवरण बुझ्ने काम भइरहेको जानकारी दिएकी छन्। ‘केही घाइते भएको सूचना पाएका छौं। विस्तृत विवरण बुझ्दैछौं,’ उनले भनिन्।
इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले पनि घाइतेहरूको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए। उनले कम्तिमा पनि ७ जना घाइते भएको बताए। ‘७ जना वा ९ जना घाइते हो यकिन भइसकेको छैन।
हमासले इजरायलमाथि रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ।
यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो। अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग इजरायल युद्धमा रहेको बताएका छन्। उनले हमासको आक्रमणको प्रतिकार गर्न मिलिटरी रिजर्भिस्टसलाई पनि बोलाएका छन्।
‘हाम्रा दुश्मनले कल्पना नै नगरेको मूल्य चुकाउनु पर्ने छ,’ नेतन्याहुले भनेका छन्, ‘हामी युद्धमा छौं र हामीले यो युद्ध जित्नेछौं।’
इजरायली सेनाले अहिले गाजामा हवाई कारबाही थालेको छ। हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए।
उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए। ‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन्।
इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको उनको दाबी छ। हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो। उक्त लडाइँ १० दिनसम्म चलेको थियो।