काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेपछि इजरायलमा युद्धको त्रासदी फैलिएको छ । बामबारीमा केही नेपाली पनि घाइते भएका छन् ।
इजरायलको पामी तसहजमा रहेका केही नेपाली विद्यार्थी अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनीहरुले आफू ११ जना नेपाली अहिले बंकरमा रहेको र बाहिर केही साथी घाइते भएको जानकारी गराएका छन् ।
आक्रमणमा पनि घाइते हुनेहरूमा नेपाली नागरिक समेत छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ जना नेपाली घाइते भएको पुष्टि भएको छ, जसमध्ये दुइ जनाको अवस्था गम्भीर छ ।
यसैबीच एनआरएनए ईजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले आफ्नो फेसबुकको स्टाटसमा सबैलाई उद्दारको प्रयास भैरहेकाले धैर्य रहन अनुरोध गर्नु भएको छ ।
उहाँ लेख्नुहुन्छ : तनाव ग्रस्त क्षेत्रमा रहनु हुने नेपाली भाईवहिनीहरुलाई त्यहाको स्थलगत Situation ले Rescue गराउने हाम्रो जोड र नेपाली राजदुतावासको आज दिनभरको भरपुर पहल सफल हुन सकेन । अहिले त्यो क्षेत्र सिल गरी इजरायली सैनिकले अप्रेशन चलाइरहेको खवर छ ।
संभवत रातभरको इजरायली सैनिक कारवाहीपछि विहानैदेखि ति स्थानहरु केही सुरक्षित हुनेछन् र विहानैदेखि सेल्टरमा बस्न वाध्य हाम्रा भाइवहिनीहरुको Rescue हुनेमा विश्वस्त छौं । धैर्य गरेर सुरक्षित भई वस्न अपिल गर्दछु ।