जनकपुरधाम । नेकपा एमालेबाट चुनावमा टिकट नपाएर पार्टी परित्याग गरी जनमत पार्टीबाट पछिल्लो निर्वाचनमा चुनाव लडेका पूर्व प्रदेशसभा सदस्य किशोरी साह ‘कमल’ फेरि एमालेमा फर्केका छन् ।
चुनावको एकदिन अघि मात्रै जनमत प्रवेश गरी चुनाव लडेका उनी बुधवार पुनः एमालेमा फर्केका हुन् । उनलाई नेकपा एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष ओलीले उनलाई टिका लगाएर गम्छा ओढाएका थिए ।
२०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा एमालेबाट विजयी भएका थिए । तर टिकट नपाएकै झोकमा उनले ०७९ को निर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडेका थिए । चुनावमा पराजित भएका साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेका छन् ।
जनमतबाट चुनाव लड्दा पार्टीभित्र गुटबन्दी गरेको र आफ्नै नेता विरुद्ध अनर्गल प्रचारबाजी गरेको भन्दै उनलाई पार्टीले ब्ल्याक लिस्टेड गरेको पार्टी सचिव बिपी साहले बताए । चुनावपछि जिल्ला स्तरीय बैठकमा पूर्व सांसद साहले आफ्नै पार्टीका नेता कार्यकर्ताले घात गरेर चुनाव हराएको भनेपछि बैठकमै कुटाकुट भएको थियो ।