विराटनगर । विराटनगर विमानस्थलको रनवेमा कुकुर छिरेपछि केही समय उडान– अवतरण प्रभावित भएको छ । बुधबार दिउँसो एक्कासी रनवेमा एउटा कुकुर देखिएको थियो ।
कुकुर देखिएपछि केही समय उडान अवतरण रोकिएको थियो । रवेमा देखिएको कुकुर लखेट्न विमानस्थलले साइरनसहितको गाडी प्रयोग गरेको थियो । गाडीले पछ्याउँदा कुकुर रनवे वरिपरि भागिरह्यो । करिब १५ मिनेटको प्रयासपछि मात्रै कुकुरलाई विमानस्थलबाट बाहिर निकालिएको थियो ।
कुकुर लखेट्न समय लागेपछि बुधबार दिउँसो बुद्ध एयरको विमान केही समय आकाशमै होल्ड गरिएको थियो । विमानस्थलको टर्मिनल भवनको पश्चिमतर्फ देखिएको कुकुर कताबाट रनवेमा प्रवेश ग¥यो भन्ने नखुलेको विराटनगर विमानस्थलका प्रवक्ता युवराज भण्डारीले बताए । कुकुर देखिएपछि तुरुन्तै निकालिएको बताउँदै उनले उडान अवतरणमा प्रभाव नपरेको बताए ।
विमानस्थल क्षेत्रमा गरिएको तारबार भत्किएका कारण कुकुर र स्याल बेलाबेला प्रवेश गरेपछि उडान–अवतरण प्रभावित भइरहन्छ । दुई वर्षअघि विमानस्थलको रनवेमा निलगाईको हुल देखिएको थियो ।