गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरेलले सुरु गरेको “आक्रमण पूर्ण रुपमा अन्त्य नहुँदासम्म” बन्धक बनाइएका थप मानिसहरूलाई मुक्त नगर्ने जनाएको छ।
इजरेलले डिसेम्बरको सुरुमा गरिएको सङ्घर्षविराम अन्त्य भएयता गाजामा हमासका २,००० जना लडाकुहरू मारिएको बताएको छ। एक साता लामो सङ्घर्षविरामका क्रममा १०० जनाभन्दा बढी बन्धक बनाइएका मानिसहरू मुक्त भएका थिए।
गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ।
हमासबाट बन्धक बनाइएका ठानिएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अझैसम्म अज्ञात छ। यसअघि युद्धविरामका क्रममा थाइल्यान्ड, फिलिपिन्स सहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपालका नागरिक रिहा भएका छैनन्।
विपिन जोशीको रिहाइका लागि के पहल हुँदै छ?
सरकारले इजरेल-हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्टसहितका देशहरूमार्फत् जोशीको रिहाइका लागि पहल भइरहेको जनाएको छ।
यसअघि हमासले तीन जना ज्येष्ठ उमेरका इजरेली बन्धकहरूको भिडिओ सार्वजनिक गरेको थियो। तर जोशी कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझैसम्म थाहा हुन नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्।
यसअघि इजरेली फौजले गाजाको एउटा अस्पतालको सीसीटीभी क्यामरामा कैद गरिएको भिडिओमा नेपाली बन्धक पनि देखिएको उल्लेख गरेको थियो।
‘युद्धविरामको प्रयास’
इजरेल-हमास युद्ध अन्त्य गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घमा प्रस्तावहरू पारित गर्ने प्रयास जारी छन्।
अमेरिकाले भने राष्ट्रसङ्घको सुरक्षा परिषद्मा अघि सारिएको युद्धविरामसम्बन्धी प्रस्तावको मस्यौदामा आफ्नो गम्भीर चासो रहेको बताएको छ। सुरक्षा परिषद्मा यसअघिको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेपछि युद्धविरामको प्रस्ताव पारित भएको थिएन।
अर्को मतदान नेपाली समयअनुसार शुक्रवार रातिका लागि तय गरिएको छ। डिसेम्बरको सुरुमा भएको एक साता लामो युद्धविरामले संयुक्त राष्ट्रसङ्घले भोकमरी निम्तिन सक्ने चेतावनी दिएको गाजामा थप सहायता पठाउन सहयोग पुगेको थियो।
अर्को युद्धविरामका लागि इजिप्टको काएरोमा वार्ताहरू भइरहेका छन्। यद्यपि प्रारम्भिक छलफलहरूबाट कुनै सहमति निस्कन सकेको छैन।
हमासको भनाइ के छ?
हमासले एक वक्तव्य जारी गर्दै भनेको छ, “आक्रमण पूर्ण रुपमा अन्त्य नभएसम्म कैदीहरूबारे कुनै पनि छलफल वा साटफेरको सम्झौता नगर्ने प्यालेस्टाइनको राष्ट्रिय निर्णय भएको छ।”
यो वक्तव्यमा उल्लेख गरिएको अर्को प्यालेस्टिनी खेमा कुन हो भन्ने स्पष्ट छैन। गाजामा सक्रिय रहेको अर्को समूह इस्लामिक जिहादले पनि सानो सङ्ख्यामा बन्धकहरू राखिरहेको बुझिएको छ। हमासको वक्तव्यले इजरेली सरकारलाई अफ्ठ्यारोमा पारेको छ।