प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले गरेको कामलाई राम्ररी प्रचार गर्न नसकेको बताएका छन्।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अरू पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको बताएका हुन्।
‘अरूले पिठोपनि राम्रोसँग कराएर बेच्दा राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी,’ उनले भने। उनले आफू पहिलो प्रधानमन्त्री बन्दा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, १ लाख भन्दा बढीको ब्याज मिनाहा गरेको बताए।
त्यस्तै दोस्रोपटक प्रधानमन्त्री बन्दा नेपाललाई लोडसेडिङमुक्त देश बनाएर उज्यालो नेपाल अभियानको थालनी गरेको बताए। यसपालि तेस्रो पटक प्रधानमन्त्री हुँदा आगामी डेढ वर्षपछि सिंगो देशभित्र एउटा पनि विद्युत् नपुगेको घर नहुनेगरी काम गरेको बताए।
सुशासन सामाजिक न्याय र समृद्धिको नयाँ अभियान चलाइएको र त्यसअन्तर्गत मिटरब्याजीहरूविरूद्ध आयोग र ऐन बनाए कारबाही गरी लाखौं किसानहरूलाई मिटरब्याजबाट मुक्त गरिएको प्रधानमन्त्री प्रचण्डले बताए।
‘यति ठूलो काम पनि राम्रोसँग बिक्री गर्न सकेनौं, अरूले नगरेको कामपनि गरेजसरी प्रचार गर्छन्। हामीले गरेको पनि गरेको भन्न सकेनौं,’ उनले भने।