काठमाडौं । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको पाइएको छ । केही महिनाअघि पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौतामा बुढासुब्बाले यो रकममा कपिराइट लिएको पाइएको हो ।
कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियोको प्रतिलिपि अधिकार बुढासुब्बालाई बिक्री गरिएको बताए । याेसँगै अन्य सर्वसाधारणलाई व्यावसायिक प्रयाेजनका लागि आरती तथा दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरिएको छ ।
अधिकारीका अनुसार बाेलकबाेल प्रक्रियाबाट बुढासुब्बा डिजिटल छनोट भएको हो । अब कसैले व्यावसायिक प्रयोजनका लागि सो क्षेत्रको भिडिओ खिचेर युट्युबसहितका सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने उनले बताए ।
“कसैले पशुपतिमा गएर ब्रतबन्ध गरेको छ, न्वारन गर्न आएको छ भने त्यस्तोमा सम्झनाका लागि फोटो, भिडिओ खिच्न नपाउने भन्ने हुँदैन,” उनले भने, “त्यसबाहेक आरतीमा आफू गएको छु भन्ने जानकारी दिन सामाजिक सञ्जालमा भिडिओ राखे पनि कपिराइट लाग्दैन । तर, आम्दानी गर्ने उद्देश्यले भिडिओ राखे बुढासुब्बाले कपिराइट लगाउन सक्छ ।”
पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटलले जारी गरेको सूचना























