छोरी
आगोको राँको बोकेर
अन्यायमा अघि बढ्दै जाऊ
भुइँचालो बनेर
साँघुरा गल्लीहरू भत्काउँदै जाऊ
हिँड्ने बाटाहरूमा ओछ्याइएका
काँड़ाहरू टेक्दै जाऊ
यस्तै- यस्तै गर्दै जाऊ
छोरी तिमी अघि बढ्दै जाऊ ।
कहिलेकाहीँ-
हिड्दै जाँदा बाटाहरू बाङ्गाटिङ्गा हुन्छन्
नअलमलिई मूलबाटो रोज्दै जाऊ
तिम्रा कानमा पर्न नहुने
स्वरहरू पनि गञ्जिन पुग्छन्
तर, त्यहाँ दरिलो स्वरहरू भर्दै जाऊ
कहीँ बाँच्न खोज्ने भावनाहरू छटपटिरहेका हुन्छन्
तिनीहरूलाई निकासको बाटो देखाउँदै जाऊ
सिर्जनशील मनहरूलाई सिर्जनाको मल छर्दै जाऊ
आफ्नो अस्तित्वको निम्ति आवाजहरू उठाउँदै जाऊ
लाखौँ आवाजहरूसँग रुँदै बस
तर एक्लो खुसीमा हाँस्दै नआऊ
यहाँ गोरेटाहरूमा कहिलेकाहीँ
काला सर्प र बिच्छीहरू पनि हुन्छन्
तिनीहरूलाई दह्रो मुटु राखेर कुल्चँदै जाऊ
राष्ट्रका निम्ति
गोलीहरू बोक्ने छातीहरू बनाउँदै जाऊ
काँड़ैकाँड़ाका बीचमा फक्रिएर
फुल्ने फूल भएर फुल्दै जाऊ
यसरी नै छोरी तिमी अघि बढ्दै जाऊ ।
कमला प्रसाईं
न्यूयोर्क, अमेरिका






















