इलाम । इलाम-२ उपनिर्वाचनका उम्मेदवारहरूको भाग्य र भविष्यको फैसला मतपेटिकामा सिल भएको छ । शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेको समय सीमाभित्र ६० प्रतिशत मत खसेको छ ।
कूल मतदाता १ लाख १५ हजार ८८९ रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् ।
इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बु र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन छ ।
उपचुनावको रिपोर्टिङका लागि इलाम २ का गाउँबस्ती एक सातासम्म डुल्दा रास्वपा र पहिचानवादीको जर्बजस्त उपस्थितिले चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको देखिन्थ्यो । स्थायी प्रतिद्वन्द्वी एमाले र कांग्रेसको मैदानमा रास्वपा र पहिचानवादीको प्रवेशले मतान्तरमा रोमाञ्चकता थप्नेछ ।
एमाले, कांग्रेस, रास्वपा, पहिचानवादीले प्रतिष्ठानको विषय बनाएको उपचुनावमा रणनीति र गणितीय लेखाजोखा पनि गरेका थिए ।