काठमाडौं । एनसेल फाउन्डेसनले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । पेरिस पारालिम्पिक्स-२०२४ मा कांस्य पदक दिलाउन सफल पलेशालाई १० लाख नगद पुरस्कारसहित सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा पलेशासहित अन्य खेलाडीलाई नगदसहित सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो । कम्पनीले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँले पुरस्कृत गरेको छ ।
यसैगरी कम्पनीले तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई समान १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणी उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्याएको सहयोगको उच्च मूल्यांकन गर्दै पारा खेलाडीहरूलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री चौधरी लगायतले एनसेललाई सो सम्मान गरेका हुन् ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले एनपीसीसँगको सहकार्यमा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै एक बलियो साथ दिने प्रतिबद्ध व्यक्त गरिन् ।