काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ ।
आज बिहान जजिरा एयरको विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले कम्पनीका भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए ।
उनले अहिलेसम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको जनाएको छ ।
विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी ३१६ उडान तालिका रहेकामा २३८ हाराहारी उडान रद्द भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो ।