काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले आफू गैरकानुनी एपबाट टाढा रहेको बताएकी छन् । आफूलाई व्यावसायिक दूत बनाएको दाबी गर्दै एक गेमिङ एपले विज्ञापन गरेको विषयमा उनले आपत्ति समेत प्रकट गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमार्फत उक्त अवैध प्लेटफर्ममा आफ्नो नाम र तस्बिर दुरुपयोग भएको बताएकी छन् । ‘मलाई ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ’, स्वस्तिमाले अगाडि भनेकी छन्– ‘म यस्ता गैरकानुनी एपबाट कोसौँ टाढा छु । यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल ।’
उनले यस्ता विषयमा नेपाल प्रहरीले कारबाही गर्ने विश्वास समेत राखेकी छन् ।