पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालले उनलाई डिस्चार्ज गर्ने निर्णय गरेको छ। घाउ निको हुँदै गएको र फोक्सोमा कुनै असर नदेखिएकाले डिस्चार्ज गर्ने निर्णय गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पोखराका मेयर धनराज आचार्य भने घाउ निको हुँदै गएको र फोक्सोमा असर नदेखिए पनि उच्च रक्तचापका कारण केही दिन अस्पतालमै रहने भएका छन्।
गत शनिबार हाइड्रोजन भरिएको बेलुन उडाएर पोखरा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा उनीहरूको शरीरका विभिन्न भागमा जलन भएको थियो।























