काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई शनिवार पक्राउ परेकी थिइन् ।
सांसद राईलाई काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।
सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । प्रहरीको थप अनुसन्धान पनि चलिरहेको छ । सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई फरार थिइन् ।
शनिबार पक्राउ परेपछि त्यसको सूचना संसद् सचिवालयमा पुगेको हो । अब पक्राउको सूचना सभामुखले सभामा सुनाउँछन् । सांसद पक्राउ परेको सम्बन्धी जानकारी प्राप्त भएको बताउँछन् संघीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइराला । ‘पक्राउ परेको सूचना प्राप्त भएको छ । अब नियमावलीअनुसार प्रक्रियामा जान्छ’ कोइरालाले अनलाइनखबरसँग भने ।
सांसद राई पक्राउ परेको जानकारी सभामुखले संसद्लाई गराए पनि तत्काल उनको सांसद पद भने निलम्बन हुने छैन । प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था छ ।
कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।
बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पार्टीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।

























