काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् । उनीविरुद्ध आजभन्दा ठ्याक्कै १ वर्षअघि १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।
नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।
छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो ।
चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ । बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ ।
नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी सांसद बस्नेत भने पक्राउ पुर्जी जारी भएयता १ वर्षदेखि फरार भएकी हुन् ।
फरार सांसद बस्नेत संसद् र संसदीय समितिका गतिविधिमा सरिक हुने कुरै भएन । तथापि, उनको तलब-भत्ता रोकिएको छैन ।