काठमाडौँ ।
‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद – चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेलमैदानसम्म’ भन्ने मूल नाराका साथ क्याच एन्ड सर्भ बल नेपाल (Catch’n Serve Ball Nepal) र मनास्लु महिला क्षमता विकास केन्द्रको संयुक्त आयोजनामा एक विशेष कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। महिलाहरूलाई घरायसी कामको घेराबाट बाहिर निकाली खेलकुदका माध्यमबाट शारीरिक र मानसिक रूपमा सशक्त बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मैदानसम्म पुर्याउने र समाजमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व राजदूत तथा हालकी राष्ट्रिय सभा सदस्य माननीय डा. अञ्जान शाक्य रहनुभएको थियो भने विशेष अतिथिको रूपमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको उपस्थिति रहेको थियो।
सँस्थाकि अध्यक्ष कादम्वरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई महिला सशक्तीकरण, समानता र नेतृत्व विकासको बलियो माध्यम भएको उल्लेख गर्दै यस्ता अभियानले समाज रूपान्तरणमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरू, अग्रज खेलाडीहरू, खेलप्रेमी महानुभावहरूका साथै छापा तथा अनलाइन मिडियाका पत्रकारहरूको बाक्लो एवं सक्रिय सहभागिता रहेको उक्त कार्यक्रम उत्साहजनक वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
























