नुवाकोट । त्रिशुली खोलाको तीव्र कटानका कारण विदुर नगरपालिका–४, बट्टारस्थित बट्टार बसपार्क आसपासका केही घर तथा भौतिक संरचना जोखिममा परेका छन्।
खोलाले बसपार्कको खोलातर्फको भाग कटान गर्दै गएपछि आसपासका घर तथा व्यवसायमा रहेका मानिसहरू त्रसित बनेका छन्। जोखिम बढ्दै गएपछि स्थानीय तथा व्यवसायीहरूले घर र भवनभित्र रहेका किम्ती सामान सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।
बसपार्क आसपासका केही भौतिक संरचना खोला कटानको प्रत्यक्ष जोखिममा परेका छन्। त्रिशुलीको बहाव र कटान निरन्तर बढ्दै गए थप संरचना जोखिममा पर्न सक्ने स्थानीयको चिन्ता छ।
जोखिमपूर्ण क्षेत्रमा रहेका स्थानीयवासी तथा व्यवसायीलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ। विशेषगरी खोलाको किनार आसपास रहेका घर तथा व्यवसायमा बसोबास गर्नेहरूलाई परिस्थितिको निरन्तर जानकारी लिँदै आवश्यक परे सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
भिडियो हेर्नुहोस्ः

























