१६ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ र, अहिलेकै संसदीय समीकरण कायम रहे सत्तारुढ गठबन्धनकै उम्मेदवारले जित्ने निश्चित छ ।
तर नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार बन्न रस्साकस्सी चर्को छ । आकांक्षीहरु आफू उम्मेदवार भए जित्ने दाबी समेत गर्छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले शुक्रबार स्थायी कमिटी बैठकबाटै राष्ट्रपतिमा सहमतिको पहल गर्ने निर्णय गपछि त कांग्रेसभित्र राष्ट्रपति पद पाउने आशा बढेको देखिन्छ ।
जबकी पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने १० पुसमा निर्णय भइरहँदा राष्ट्रपति पद एमालेले लिने सहमति भएको थियो ।
२६ पुसमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै माओवादी नेताहरुले राष्ट्रिय सहमति भन्न थालेका थिए । प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचन अघि कांग्रेससहित दलहरुको बैठक राखे भने शुक्रबार पार्टी कमिटीबाटै निर्णय गरेपछि कांग्रेस नेताहरु उत्साहित भएका छन् ।
कांग्रेसमा राष्ट्रपतिको सम्भावित उम्मेदवारकै रुपमा भने ४ मंसिरको आमचुनाव अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सवैभन्दा बढी चर्चामा थियो । त्यसबेला माओवादी केन्द्र सहितका पाँच दल कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले पौडेललाई संभावित राष्ट्रपतिकै रुपमा समेत हेरिएको थियो । तर शेरबहादुर देउवा र प्रचण्डबीच को पहिला प्रधानमन्त्री बन्ने भन्ने सहमति जुट्न सकेन । प्रचण्डले अप्रत्यासित निर्णय गर्दा कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो । कांग्रेस सबै पदबाट बाहिरिएर कांग्रेस विपक्षी कित्तामा धकेलियो ।






















