काठमाडौँको तारकेश्वर-५ गोलढुङ्गाबाट तीन जना
काठमाडौँ। नक्कली नोटसहित ३ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुङ्गा नगिनी खोला अगाडीबाट मंगलबार साँझ सशस्त्र प्रहरीले तीन जनालाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा खोटाङ जिल्ला दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दि गाउँपालिका ०२ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालिका १ का मदन दमाईं छन्।
उनीहरुले तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुङ्गामा घर भाडामा लिएर बस्दै आएका थिए । सशस्त्र प्रहरीले उनीहरुको कोठाबाट नेपाली रुपैयाँ एक हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद गरेको छ।
यसैगरी मोबाइल ४ थान , सिमकार्ड १० थान र २२० सिसिको बा६५प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको हुन सक्ने आशंका गरिएको छ । उनीहरुलाई बरामद सामान सहित आबश्यक कारबाहिको लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्रले जनाएको छ ।

























