चितवन । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलमा काम गर्न गएका नेपाली विद्यार्थीहरु नेपाल फर्किन चाहेका छन् ।
अहिले पनि विभिन्न ठाउँमा मिसाइलहरु आक्रमण भैरहेकाले सरकारले चाँडै उद्धार गरेर स्वदेश फर्काइदिओस् भन्ने उनीहरुको माग छ । स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेबाट नै इजरायल माथि प्यालेस्टाइनी विद्रोही समूहले आक्रमण सुरु गरेको कृषि अध्ययन र कामका लागि गएका नेपाली विद्यार्थी सुरज भण्डारीले बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार घटनामा १४ जना नेपाली काम गर्ने एक कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएका र तीमध्ये दई जनाको अवस्था गम्भीर छ । एग्रिकल्चरको किवुज कम्युनिटीमा काम गर्ने विद्यार्थी घाइते भएको जनाइएको छ ।
घटनास्थलबाट करीव ३० किलोमिटर पर रहेको सोरासिम नर्सरी फार्ममा काम गर्ने चितवन भरतपुरका युदिन ढकालले आफूहरु अहिले पनि बंकरमा नै बसिरहेको बताए । उनको फार्ममा काम गर्ने १८ जना नेपाली बंकरमा नै बसिरहेको र अहिलेसम्म कसैले पनि सहयोग नगरेको गुनासो गरे । ‘हाम्रो उद्धार कतिबेला होला भनेर पखाईमा छौं,’ कुराकानीमा युदिनले भने, ‘हामीले आफूले ल्याएको केही खाने कुरा खायौं ।’
घटना भएको स्थल नजिकै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुसमेत परेको जानकारी आएको भण्डारीले बताए ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान तथा पशु चिकित्सा र वन संकायमा अध्ययन गर्ने विद्यार्थीहरु इजरायल गएका छन् ।
कृषि विश्वविद्यालयबाट १ महिना अगाडि तथा त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयबाट २५ दिन अगाडि मात्रै विद्यार्थीहरु पढ्दै काम गर्न भनेर इजरायल गएका हुन्






















