इजरायलबाट उद्धार भएका विद्यार्थीमध्येकी एक सिरहाकी शोभा पासवानले बाँचेर फर्किन पाउँदा खुसी लागेको बताएकी छन् । तर, इन्टर्नमेट साथीहरू गुमाउनु पर्दा उत्तिकै नमिठो अनुभव भइरहेको उनले बताइन् ।
नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौँमा आइपुगेपछि विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उद्धार गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् । ‘इन्टर्नमेटहरु गुमाउँदा निकै पीडा भएको छ’, उनले भनिन्, ‘हामी बाँच्यौँ त्यो एक ठाउँमा छ, त्यसमा खुसी छौँ । तर, सँगसँगै पीडा पनि रहिस्यो ।सरकारले उद्धार गरेकोमा धन्यवाद ।’
उनका अनुसार घटनापछि तीन दिनसम्म १८ जना विद्यार्थी कष्टपूर्ण रूपमा बंकरमा बसेपछि त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो । स्थानीयहरूले समेत यस्तो खालको घटना कहिल्यै नभोगेको बताएको भन्दै उनले यसबीचमा निकै त्रास भोगेको बताइन् ।
‘डरमर्दो अवस्थामा हामी तीन दिन बंकरमा बस्यौँ’, उनले भनिन्, ‘खाना २४ घण्टामा एक पटक पाएका थियौँ । अहिले उद्धारपछि सकुशल नेपाल टेक्न पाउँदा निकै खुसी लाग्यो ।’ बंकरमा बस्दा रकेट प्रहारदेखि फाइरिङसम्मको आवाज निरन्तर सुन्दा अहिले पनि अत्यास लागिरहेको उनको भनाइ थियो ।
आफू कार्यरत स्थानबाट १० नेपालीले ज्यान गुमाएको स्थान २७ मिनेटको दूरीमा भएको उनको भनाइ छ । अन्य नेपालीहरुले पनि ज्यान जोगाएर फर्किन पाउँँदा खुसी लागेको प्रतिक्रिया दिए । उद्धार गरिएका नेपालीलाई गन्तव्यमा लैजान नेपाल प्रहरीले बसको व्यवस्था गरेको छ ।

























