काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई समेत भाग दिएर राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउने गरी चलिरहेको शीर्ष नेताहरूको छलफल संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) तर्फ केन्द्रित हुने भएको छ ।
स्रोतका अनुसार, शुक्रबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकबाटै बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा रहेको विवाद टुंग्याउने गरी छलफल हुनेछ ।
‘राष्ट्रियसभा सदस्यको भागबण्डामा एमालेलाई समेट्ने कि नसमेट्ने भन्ने कुरा अब त्यही समितिको निर्णयमा भरपर्छ’, ती स्रोतले भन्यो । टीआरसी टुंग्याएर मात्रै राष्ट्रियसभा सदस्यको भागबण्डाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहमत भएका छन् ।






















