काठमाण्डाैं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। अंकित मूल्यभन्दा दोब्बर मूल्यमा ‘मिनिरल वाटर’ बेचेको भन्दै विभागले जिम्बु थकालीलाई जरिवाना गरेको हो।
जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरेका थिए। महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए।
रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्यभन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए। रेष्टुरेण्टले अब पनि अंकित मूल्यभन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए।
‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो। के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं। हामी रेष्टुरेण्टमा आयौं। पानी मागिएको थिएन। पानी ल्याएर दिनुभयो, पानी र खाजा मःमः खाऔं। एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ। ३५ रुपैयाँ अंकित मूल्य भएको पानीलाई १०० रुपैयाँ लिनुभएको रहेछ।
कुनै पनि उपभोक्तालाई लेभल गरिएको हुन्छ। त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन। खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो,’ उनले भने, ‘बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ। वाणिज्य विभागको प्रमुख ठगीमा परे। यो एउटा उदाहरण मात्रै हो। उहाँहरुले विल लिनुपर्छ।
विल लिएर विभागमा उजुरी गरे कानून अनुसार कारबाही गर्छौं। चाडपर्व लक्षित बजारमा ७ वटा टोली खटाएका छौं। भोलिदेखि अझ बढी टोली परिचालन गर्छौं। उहाँलाई अहिले ३ लाख रुपैयाँ जरिवाना गर्नुभएको छ। उहाँहरुले अब मूल्य भन्दा बढी मूल्यमा कुनै पनि सामान बेच्न पाउनु हुन्न।’
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रेष्टुरेण्टलाई अंकित मूल्यभन्दा बढी मूल्यको आधारमा ३ लाख रुपैयाँ जरिवाना गरिएको उनले बताए। चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको उनले बताए। काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको उनले बताए।
(न्युज एजेन्सी नेपाल)






















