काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सुरक्षाका लागि उनलाई राति घरबाट लगिएको दाबी गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार शनिबार राति पूर्वप्रधान्यायाधीश जबरालाई भौतिक आक्रमण हुने खतरा देखिएपछि प्रहरीले सुरक्षाका लागि महराजगन्जस्थित घरबाट अपराध अनुसन्धान कार्यालयमा लगेको हो।
‘शनिबार राति उहाँलाई भौतिक आक्रमण हुँदै छ भन्ने सूचना प्राप्त भयो’, नेपालखबरको जिज्ञासामा आइतबार बिहान एसएसपी थापाले भने, ‘त्यसपछि हामी गएर उहाँलाई कन्भिन्स गर्यौँ र अब तत्काल त्यहीँ राख्ने कि के गर्ने भन्दा बरु हामीकहाँ नै ल्याउँदा सुरक्षा हुन्छ भनेर ल्याएका हौँ। अरू केही पनि होइन।’
यद्यपि उनले विस्तृत कुरा खुलाउन चाहेनन्।
एसएसपी थापाले थपे ‘समग्रमा भन्नुपर्दा तत्काललाई हाम्रो प्राथमिकतामा उहाँको सुरक्षा पर्थ्यो। त्यसैले उहाँलाई सुरक्षा दिइएको हो। बाँकी केही पनि होइन।’
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति महाराजगन्जस्थित निवासबाटै जबरालाई नियन्त्रणमा लिएको हो।

























