असोज २६, काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ । यद्यपि, उनले सामान्य दाेहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ ।
उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जोशीको स्वास्थ्यमा केही सुधार भएको र दोहोरो कुरा गर्न सक्ने अवस्थामा छन् ।
‘उहाँ सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानीमा राखिएको छ,’ डा. बज्राचार्यले भने । डा. बज्राचार्यका अनुसार निमोनिया संक्रमणको साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ ।
खकार परीक्षण गर्दा एन्टिबोयोटिक्स निरन्तर दिनुपरेको चिकित्सकले जानकारी दिएका छन् । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।