गुल्मी क्षेत्र नं. २ को मतगणना जारी रहेको छ । जिल्लाको सदरमुकाम तम्घासमा भइरहेको मतगणनामा हालसम्म इश्मा गाउँपालिकाको मात्र मत गणना भएको छ ।
जसमा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले ६७२ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले ६०२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । गुल्मी २ को मतगणना सोमबार बेलुका ४ बजेबाट सुरु भएको थियो ।
रुपन्देही ४ मा मतगणना रोकियो
रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा लिएर विवाद हुँदा मतगणना रोकिएको हो ।
क्षेत्र नं ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चार हजार आठ सय ४३ मतगणना भएको छ । जसअनुसार साइकल चुनाव चिह्नले एक हजार आठ सय ८३ मत, रुख चिह्नले एक हजार तीन सय ४० मत, लाउडस्पिकर चिह्नले एक हजार ३३ मत प्राप्त गरेका छन् । यो बाहेकको तथ्याङ्क आधिकारिक नभएको निर्वाचन अधिकृत आचार्यले बताएका छन् ।
फरक मतपेटिकामा फरक मत देखिएकाले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत आचार्यले यस विषयमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको बताए । उनले आधा घण्टाभित्रै मतगणना सुरु गरिने जानकारी दिए ।






















