नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।
थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन्। संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए। समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।
संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।
बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ। मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।
कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ।