काठमाडौं । सरकारलाई सुरुमै समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबन्डामा उर्जा मन्त्रालय पाउने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएपछिअब गठबन्धनले मन्त्रालयको भागबन्डालाई अन्तिम रुप दिन लागेको हो ।
माघ ५ गते सभामुखको निर्वाचन हुनुभन्दा अगाडि नै मन्त्रालयको भागबन्डा गर्न ओली र प्रचण्ड सहमत भएको श्रोतको भनाई रहेको छ । उनीहरुबीच भएको सहमति अनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने भएका छन् । राप्रपाले अन्य दुई मन्त्रालय पनि पाउने भएको छ ।
त्यसैगरी यसअघि स्वास्थ्य मन्त्रालयसमेतमा दाबी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शहरी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय दिने सहमति भएको छ ।
प्रधानमन्त्री र एक उपप्रधानमन्त्री पाएको माओवादीले अब तीन मन्त्रालय लिने भएको छ । यसअघि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनाएको माओवादीको भागमा अब सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र पर्ने पक्का भएको छ भने अरु मन्त्रालयको भागबन्डा टुंगो लाग्न बाँकी छ ।
त्यसैगरी यसअघि पार्टी उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानसहित अर्थमन्त्री बनाउको एमालेको भागमा अरु ६ मन्त्रालय पर्ने श्रोतको भनाइ रहेको छ । पुस ३ गते नियुक्त भएका तीन मन्त्री अझै विना विभागीय नै रहेको अवस्थामा उनीहरुलाई जिम्मेवारी दिइ अरु तीनजनालाई एमालेले मन्त्री बनाउने भएको छ ।
त्यस्तै यसअघि उद्योग मन्त्रालय दिने भनेको जनमत पार्टीबाट एक मन्त्री विना विभागीय नै रहेका छन् । उनलाई जिम्मेवारी दिने तयारीमा गठबन्धन रहेको छ । गठबन्धनमा जनता समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने सहमति लगभग भएको छ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) सरकारमा सहभागी भए उसलाई एक मन्त्रालय दिने सहमति भएको छ ।