काठमाडौं । नेपाल एयरलाइन्सले आजदेखि हप्तामा एक दिन इलाममा उडान गर्ने भएको छ ।
सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान हुने भएको हो ।
अहिले केहीबेरमा काठमाडौँबाट उडान भर्ने तालिका रहेको नेपाल एरलाइन्सले जनाएको छ । इलाममा करिब ९ बजे पुग्ने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले जानकारी दिए ।
उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको बताए । इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाडौँको एकतर्फी भाडा छ हजार तीन सय रुपैंया तोकिएको छ ।
काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ । तर एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।