काठमाडौं । सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।
आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।
५३ जना नेपाली, १५ जना विदेशी यात्रु
काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए ।
नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए । यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नअघि दुर्घटना भएको थियो । विमानस्थललाई हाल बन्द गरिएको छ ।