काठमाडौँ । चालक दलका सदस्यसहित ७२ जना सवार रहेको यति एयरलाइन्सको जहाजसम्बन्धी एउटा भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको छ ।
करिब १० सेकेण्ड लामो भिडियोमा विमान अनियन्त्रित हुँदै उडिरहेको देखिन्छ भने लगत्तै ठूलो आवाज आउँछ । पोखराको आकासको जुन भिडियो यतिबेला सामाजिक सञ्जालमार्फत भाइरल भएका छन् । कतिपयले विमानमा समस्या थियो कि भनेर आशंका समेत गरिरहेका छन् ।
तर,आधिकारिक निकायले विमान सबै मापदण्ड पुरा गरेर उडाइएको र जहाजमा समस्या भएकोबारे पाइलटले टावरमा कुनै जानकारी पनि नगराएको स्पष्ट गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्ने तयारी रहेकै बेलादुर्घटनामा परेको जानकारी दिए । उनले पाइलटहरुले पोखरा टावरलाई विमानमा समस्या रहेको बारे जानकारी नगराएको पनि बताए ।
‘पोखरा टावरलाई विमानमा समस्या देखिएकोबारे केही पनि जानकारी गराइएको छैन’, ठाकुरले भने । पोखराको नयाँगाउँस्थित सेती खोँचमा आइतबार विमान विमान दुर्घटना भएको थियो । विमानले काठमाडौं एयरपोर्टबाट पोखराका लागि उठान भरेको थियो ।
विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।