मानव अधिकार आन्दोलनका अगुवा तथा बामपन्थी बुद्धिजीवि मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।
दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। दम र छाती रोगका संक्रमणको उपचारका क्रममा श्रेष्ठको निधन भएको उनका छोरा जया श्रेष्ठले बताए।
डाक्टरसमेत रहेका उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए। उनले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा पनि काम गरेका थिए। उनले समुदायमै चिकित्सकहरू गएर उपचार सेवा दिनुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठको निधनको खबरले अत्यन्त दु:ख लागेको बताएका छन्। ‘उहाँको निधनले अत्यन्त दु:खी छु। केही दिनअघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा रहेको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ अध्यक्ष ओलीले ट्वीट गर्दै भनेका छन्। श्रेष्ठका ६ जना छोरा र एक जना छोरी छन्। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।