पोखरा । पोखरामा एक बालक सेती खोंचमा खसेका छन् । शनिबार दिउँसो खेल्न पुगेका पोखरा ८ का स्मिथ पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए ।
केसीकाअनुसार पोखरा ८ नागढुंगा बस्ने स्मिथ तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेका हुन् । ‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको छ,’ इन्स्पेक्टर केसीले भने ।
दिउँसो ३ बजेको समय खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य (उद्धार प्रयास) गरिरहेको छ । भ्वाङभित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको केसीको भनाइ छ ।