२ वैशाख, काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।
ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता पुन भने उपचारका लागि चीनमा छन् ।
भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दारले चलाए गोली
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।