काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने छ । बैठकमा पार्टीको केन्द्रीय सदस्य, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका सदस्यहरू पनि उपस्थित हुनेछन्। पाँचदिन सम्म चल्ने बैठकमा ७ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।
केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्नेछ । अध्यक्ष प्रचण्डले ती दुई प्रतिवेदनलाई एउटै प्रतिवेदनका रूपमा पेस गर्ने महासचिव देव गुरूङले जानकारी दिए ।
यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ । यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएपछि त्यसबारेमा पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ ।