कञ्चनपुर । झिक्राझिक्रीमा माटो लिपपोत गरेर बनाएका भित्ता अनि फुस र खरपातले छाएको छानो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टी स्याउलेकी ४५ वर्षीया धना विष्टका लागि त्यही घर बर्खाको झरी र कठ्यांग्रिँदो चिसो छेक्ने ओत थियो ।
त्यो घर उनको आफ्नो भने थिएन । न जमिन आफ्नो । जमिन भाइको थियो । चरम आर्थिक गरिबीसँग जुध्दै गरेकी धनाले अनेक दु:ख गरेर बासको व्यवस्था गरेकी थिइन् । परिवारको जर्गो टार्दै आएकी थिइन् । दुई छोराछोरीमध्ये १६ वर्षकी छोरी केही महिनाअघि रोजगारीका लागि भारततिर लागिन् । त्यसपछि श्रीमान् र ९ वर्षका छोरासहित धना त्यहीँ घरमा बस्थिन् ।
बुधबार बेलुकी परिवारसहित सुतेकी धना मस्त निद्रामा थिइन् । गाउँलेहरू कराउँदै, चिच्याउँदै गरेको आवाजले उनको निद्रा खुल्यो । बिहानको ३ बजेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्ती बस्ती पसेको रहेछ । धनाको त्यही छाप्रो हात्तीको निशानामा पर्यो । एकै झड्कामा हात्तीले छाप्रोको एक भाग भत्काइदियो।
गाउँलेको हल्लाखल्ला र छाप्रोमा हात्तीको आक्रमणबाट बिउँझेका धनाका श्रीमान् भाग्न सफल भए । ढोकाबाट बाहिर निस्कँदै गरेकी धनालाई हात्तीले फेला पार्यो । सुँडले तानेर कर्याङकुरुक बनायो । र, हुत्याएर फालिदियो । जमिनमा पछारिएकी धनालाई हात्ती अझै छोडेन् । थामजस्ता खुट्टाले कुल्चियो र केहीबेरपछि छाडिदियो ।
हात्ती त्यहाँबाट गएपछि स्थानीय जम्मा भए । धुकधुकी बाँकी नै थियो । स्थानीयले उनलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाए । विडम्बना, परिवारकी मियो धना उठन सकिनन् । उपचारकै क्रममा उनको ज्यान गयो ।
स्थानीयले खबर गरेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगे । त्यतिञ्जेलसम्म हात्ती ध्वंश गरेर त्यहाँबाट गइसकेको थियो ।
जिल्लाका प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीले हात्तीको आक्रमणमा एक महिलाको ज्यान गएको बताए । ‘घटनाबारे जानकारी पाउने बित्तिकै जिल्लाबाट टोली परिचालन गरिएको थियो,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘हात्तीको आक्रमणबाट घाइते धना विष्टको उपचारको क्रममा ज्यान गएको छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको थियो ।
घटनापछि भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपमेयर नीलम लेखक, प्रहरी प्रमुख एसपी खत्री, बफरजोनका अध्यक्ष लव विष्ट, नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा, १४ का वडाध्यक्ष भोजराज जोशीलगायत घटनास्थल पुगेका थिए ।
उनीहरूलाई स्थानीयले आरक्षबाट आइरहने जंगली हात्तीले बालीनाली नष्ट गर्ने, घर भत्काइदिने र ज्यानै लिने गरेको भन्दै गुनासा राखेको १३ नम्बर वडाका स्थानीय वीरेन्द्र ओडले जानकारी दिए ।
सरोकारवाला अधिकारीहरूसमक्ष स्थानीयले मृतक विष्टको परिवारलाई राहत तथा क्षतिपूर्तिलगायत सेवा–सुविधा उपलब्ध गराइदिन माग गरेका छन् ।






















