लोकप्रिय गायक एम बराल त्रिभुवन शिक्षण अस्पताल, काठमाडौंमा उपचार गराएर डिस्चार्ज भएका छन्। केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत बरालले घर फर्किएपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभेच्छुक तथा संगीतप्रेमीलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।

ढाडको दुखाइको समस्या देखिएपछि विभिन्न परीक्षण गर्दा उनलाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि भएको थियो। शिक्षण अस्पतालमा उनको उपचारसँगै केमोथेरापीसमेत सुरु गरिएको थियो।
अहिले अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार पूर्ण रूपमा सकिएको छैन। चिकित्सकको सल्लाहअनुसार आराम गर्नुपर्ने भएकाले चाहेर पनि साथीभाइ तथा आफन्तसँग भेटघाट गर्न, अँगालो हाल्न वा हात मिलाउन सक्ने अवस्थामा नरहेको बरालले बताएका छन्।
उनले देश–विदेशमा रहेका आफ्ना शुभेच्छुक, साथीभाइ तथा आफ्नो गीत–संगीतलाई माया गर्ने सबैलाई आफूले हृदयदेखि सम्झिरहेको बताएका छन्। उपचार निरन्तर जारी रहेको र अझै केही थप उपचार गर्नुपर्ने अवस्था रहेको भन्दै उनले आफ्नो स्वास्थ्यलाभका लागि प्रार्थना, माया र आशीर्वाद गरिदिन आग्रह गरेका छन्।
‘छिट्टै स्वस्थ भएर फेरि तपाईंहरूमाझ आउन पाऊँ’ भन्ने आशा व्यक्त गर्दै बरालले आफ्नो स्वास्थ्यलाभका लागि शुभकामना तथा प्रार्थना गर्ने सबैप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन्।

























