शेरबहादुर देउवाप्रति सांसद राजीव खत्रीको कडा प्रहारः म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’ भन्दै तीन पटक बर्बराउनु भएछ। अहिले माइक समातेर घोषणा गरेपछि हिन्दु हुनु भएको हो कि, पहिल्यैदेखि? कि धर्म परिवर्तन गरेको हो? हैन भने उहाँ धर्मको नाममा राजनीति गर्दै हुनुहुन्छ ? “
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हिजो एक भाषणका क्रममा आफू ‘हिन्दु हुँ, हिन्दु हुँ’ भन्दै अभिव्यक्ति दिएपछि त्यसलाई लिएर सांसद राजीव खत्रीले कडा टिप्पणी गरेका छन्।
खत्रीले देउवालाई लक्षित गर्दै लेखेका छन्, “हिन्दु धर्मलाई कोमामा पुर्याएका एक व्यक्ति ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’ भन्दै तीन पटक बर्बराउनु भएछ। अहिले माइक समातेर घोषणा गरेपछि हिन्दु हुनु भएको हो कि, पहिल्यैदेखि? कि धर्म परिवर्तन गरेको हो? हैन भने उहाँ धर्मको नाममा राजनीति गर्दै हुनुहुन्छ।”
उनले नेपालजस्तो हजारौँ वर्ष पुरानो हिन्दु सभ्यता भएको देशको पहिचान मास्ने काममा विगतमा भूमिका खेलेको आरोप लगाउँदै अहिले अन्य कुनै उपाय नलागेपछि धर्मलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न खोजिएको टिप्पणी गरेका छन्।
“उहाँले ‘हिन्दु हुँ’ भनेर अन्तिम अस्त्र त फाल्नुभयो, तर नेपाली राजनीति आफूबाट धेरै टाढा पुगिसकेको मेसो पाउनु भएन,” खत्रीले लेखेका छन्। उनले यो उमेरमा दलविहीन भएर धार्मिक कार्ड खेल्नुभन्दा स्वास्थ्य लाभ गर्नु नै उचित हुने सुझावसमेत दिएका छन्।
राजसंस्था र हिन्दु धर्मका लागि लड्ने भन्दै देउवाको पछिल्लो अभिव्यक्तिबाट उत्साहित हुनेहरूप्रति पनि खत्रीले प्रश्न उठाएका छन्। “हिजो हिन्दुको चीरहरण गर्नेले आज तीन पटक ‘म हिन्दु हुँ’ भनेपछि उत्साहित हुनुको तात्पर्य बुझिएन,” उनले भनेका छन्।
खत्रीले हिन्दु हुनु केवल शब्दमा नभई कर्म, आचरण र संस्कारमा देखिनुपर्ने बताएका छन्। “म जन्मँदै हिन्दु भएर जन्मिएको हुँ। तर जन्मले मात्र होइन, कर्म, आचरण र संस्कारले पनि हिन्दु हुनुको अर्थ पूरा हुन्छ। धर्मको नाम बोकेर मात्र हिन्दु भइँदैन; हिन्दुत्व त जीवनशैली र आचरणमा देखिनुपर्छ,” उनले लेखेका छन्।
उनले विगतमा भएका गल्ती सच्याउँदै जीवनशैली र आचरणमा सुधार गर्नसमेत आग्रह गरेका छन्।

























