रसुवाका जलविद्युत् आयोजनामा बाढीपछि सुरु गरिएको खोजी तथा उद्धार अभियान अझै कठिन अवस्थामा छ। माथिल्लो त्रिशूली–१ को हेडवर्क्स तथा सुरुङ क्षेत्रमा शुक्रबार ६ जनाको श’व भेटिए पनि ठूलो संख्यामा मानिसको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
आयोजनामा कार्यरत १ हजार ४ सय ३३ जनामध्ये ८ सय ७६ जनाको उद्धार भइसकेको छ। बाँकी ५ सय ५१ जनाको खोजीका लागि १५ वटा उद्धार मेसिन तथा उपकरण परिचालन गरिएको छ। सुरुङबाट पानी निकाल्न वाटर पम्प पनि सञ्चालनमा राखिएको छ।
रसुवागढी जलविद्युत् आयोजनामा हराइरहेका ९३ जनाको उद्धार प्रयास नदीको बढ्दो पानी र मौसमका कारण प्रभावित भएको छ। उपकरण धुन्चेसम्म पुगे पनि आयोजनास्थलसम्म पुर्याउन नसकिएको जनाइएको छ।
उता, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट १ सय ९१ जना सम्पर्कविहीन छन्। १० दिनदेखि जारी खोजीमा विद्युतगृहको संरचना समेत फेला नपरेपछि थप गहिराइसम्म उत्खनन गर्ने तयारी गरिएको छ।
यहीबीच माथिल्लो त्रिशूली थ्री एमा फसेका सन्जय साह र कबिर मर्हजनलाई २ सय १६ घण्टापछि सकुशल बाहिर निकालिएको छ। अन्य आयोजना क्षेत्रमा पनि सुरक्षाकर्मी, प्राविधिक र उद्धार टोलीले खोजीलाई निरन्तरता दिएका छन्।

























